काठमाडौँ, २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् ।
आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले सरकारका प्रारम्भिक लक्षणहरू ठिक नदेखिएको बताए ।
लामिछानेको भारत भ्रमण र सरकारको काम कारबाहीबारे केन्द्रित रहेको बैठकमा लिङ्देनले छलफलको सुरुवात हुनुलाई सकारात्मक भनेका छन् । उनले भने, ‘दलहरूबिच कुराकानी हुनु राम्रो हो, तर भारत भ्रमणमा जानुअघि नै यस्तो छलफल भएको भए अझ परिपक्वता देखिन्थ्यो र अनावश्यक टिप्पणी आउने वातावरण बन्दैनथ्यो,’ ।
बैठकमा लिङ्देनले संसद्मा प्रतिपक्षको सङ्ख्या कम हुँदैमा सरकारले आफूलाई विकल्पहीन नठान्न सुझाव दिएको बताए । उनले भने, ‘प्रतिपक्ष गणितीय हिसाबले कमजोर छ भन्दैमा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नहोस्। वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार देखाउनु मुलुकका लागि घातक हुनसक्छ,’ ।










प्रतिक्रिया दिनुहोस्