विश्व

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियामा



एजेन्सी, २५ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले राष्ट्रपति सीलाई स्वागत गरेका छन् ।

चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको भिडियो फुटेजमा किम जोङ उन र उनकी पत्नी री सोल जुले मुस्कुराउँदै र ताली बजाउँदै चिनियाँ राष्ट्रपतिको स्वागत गरेको देखाइएको छ ।

विमानस्थलमा रातो गलैँचा ओछ्याइएको र त्यसको दुवैतर्फ उत्तर कोरियाली सेनाहरू लाइनबद्ध भएर उभिएको दृष्य भिडियोमा कैद छ ।

यद्यपि, सीसीटीभीको उक्त भिडियो क्लिपमा राष्ट्रपति सी र उनको टोलीलाई भने देखाइएको छैन। अर्को चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने किम जोङ उन र सी चिनपिङबिच हात मिलाएर भेटघाट भएको तथा उत्तर कोरियाली बालबालिकाहरूले राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई पुष्पगुच्छा अर्पण गरेको छुट्टै रिपोर्ट सार्वजनिक गरेको छ।