भक्तपुर, ३१ जेठ । तीनवटै तहका जनप्रतिनिधि भनेको राज्य, सरकार र जनताबीचको पुल हुन्, जसले सिंहदरबारको कुरा गाउँमा पुर्याउँछन् भने गाउँका कुरा सिहंदरबारमा प्रवेश गराउँछन् र कार्यान्वयनको ढोका खोल्छन् । विकास र समृद्धिको तिव्र जनताको चाहना, आवश्यकता र मागलाई यथोचित सम्बोधन गरी जनतालाई सेवाको भावलाई भौतिक विकाससँगै चेतना अभिवृद्धिलाई लैजानुपर्ने महत्वपूर्ण अवस्था बन्दै गएको छ ।
बजेटबाट मात्र होइन, नेतृत्वको साहस र लगनशीलताबाट समृद्धि प्राप्त गर्न सकिन्छ । वडा जागृत हुनु भनेको विकासको मेरुदण्ड हो । जहाँ परिपक्क निर्णय आवश्यक हुन्छ भने विकासलाई छलफलबाट निश्कर्षमा पुयाउनुपर्छ । जनप्रतिनिधि ‘शासक होइन, सेवक’ हुन् भन्ने तथ्य स्थापित गर्दै जनप्रतिनिधि भनेको सेवा हो, म केही दिन सक्छु भन्ने मात्र सफल हुन्छ भन्ने मान्यताका साथ मध्यपुर थिमी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णहरी आचार्य जनताको घरदैलोमा पुगिरहनुभएको छ । ‘भौतिक विकाससँग जनतासँग साथीत्वको विकास गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘वडाले विभिन्न प्रकारका भौतिक विकासको साथ साथै सामाजिक सुरक्षा, स्वास्थ्योपचार लगायतका कार्यहरु जनताले देख्ने र भोग्ने गरि सिंहदरबारका अधिकारहरु जनताको घरघरमा पुर्याउने गरेका छौं ।’
राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा आज भएको कार्यक्रममा वडागत रुपमा भएका विकास तथा सामाजिक कार्यहरुको स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । यस क्रममा वडाले विभिन्न टोल–टालेमा पुगेर स्थानीयवासीको माग, चाहना र आवश्यकता अनुसार विकासका योजनाहरु छनोट गरिएको वडाध्यक्ष आचार्यले दावी गर्नुभयो । ‘२०७४ सालयता म जनप्रतिनिधि भएपश्चात आफ्नो घरपरिवारमा समेत समय दिन छोडेर जनताको घरपरिवार र दुःख सुखलाई नै आफ्नो जीवनको यात्राको रुपमा रहेका कार्यसम्पादन गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘७४ पछि हालसम्मको अवस्था हेर्दा हाम्रो वडाले तीनवटै तहका सरकारको साथ र सहयोगमा जनपक्षीय कार्यमा इतिहास नै बनाएको छ, कल्पना गरे भन्दा धेरै कार्यहरु भएका छन् ।’
भौतिक पूर्वाधारको साथ साथै वडामा सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा केन्द्र सरकारले समेत गर्न कठिनाइ भइरहेका कार्यहरु उक्त वडामा भएको दावी गरिएको छ । नगरपालिकामा व्यवहारिक ज्ञान र नैतिकताका विषयहरु समेटेर सामुदायीक विद्यालयहरुमा पठनपाठन शुरु भएको जानकारी दिँदै उहाँले शुक्रबार ‘बुक फ्री डे’को रुपमा शिक्षा प्रदान गर्न थालिएको जानकारी दिनुभयो । वडामा चालु आर्थिक वर्षमा दुई करोड एक लाख कार्यपालिकाबाट बजेट आएता पनि समग्रमा तीनवटै तहका सरकारको सहयोगमा वार्षिक करिव १२–१३ करोड रकम बराबरका योजनाहरु हुने गरेको उहाँले जानकारी दिनुभयो । जसमा हाल ८० प्रतिशतभन्दा बढि कार्य सम्पन्न भइसकेको बताउनुभयो । ठेक्का लागेका केहि योजनाहरु महंगीका कारण् निर्माणमा केहि अवरोध भएको उल्लेख गर्दै उहाँले सार्वजनिक जग्गा संरक्षणमा कुनै कमि नभएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वडामा अहिले सीसीटिभी तथा सडक बक्तिको माग बढ्दो रहेको छ । अबको आर्थिक वर्षको लागि टोलटोलबाट करिव ९० वटा योजनाहरु माग भएका छन् । शिक्षाको क्षेत्रमा नविनतम् सोच र विचारका आधारमा कार्यसम्पादन गरिरहेका छौं । सामुदायीक विद्यालयमा भर्ना नै नपाउने अवस्था बनेको छ । विद्यार्थीको चाप अत्याधिक बढ्दो रहेको छ । हामीले सैद्धान्तिकमात्र नभई व्यवहारीक र जीविकोपार्जन गर्ने प्रकारका शिक्षाहरु प्रदान गर्ने शुरुवात गरेका छौं । शुक्रबारलाई बुक फ्रि डेको रुपमा सुरु गरेका छौं ।’
गलत भएमा जनप्रतिनिधि सच्चिन पाउनुपर्नेमा जोड दिँदै उहाँले मिडियाको माध्यमबाट रचनात्मक सुझावको अपेक्षा गर्नुभयो । विकासमा पक्ष वा विपक्ष नहुने उल्लेख गर्दै उहाँले जनताको घरघर–टोलटोलमा पुगेर गर्नेपर्ने कार्यहर खोजि खोजि गरिरहेका दावी गर्नुभयो । ‘आफुले आफ्नो वडा सुन्दर बनाउन सके देश आफै सुन्दर बन्छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा गोरखापत्रका सम्पादक जुनाबाबु बस्नेतले विकासलाई जनतासँग जोड्नुपर्नेमा जोड दिँदै दिगो विकासको लागि सामाजिक अडिट अपरिहार्य बन्दै गएको धारणा राख्नुभयो । बजेट भन्दा पनि सोच र दृष्टिकोण मुख्य रहेको उहाँको जोड थियो । त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व सचिव रामजी दाहालले पत्रकारितामा विकास निर्माण जोडिनु सकारात्मक भएको उल्लेख गर्नुभयो । सकारात्मक परिवर्तन विकासको आधार भएको उल्लेख गर्दै उहाँले साना–साना विकासबाट नै ठूला योजना बन्ने उल्लेख गर्नुभयो । विकासको सवारी साधन नै पत्रकारिता भएको उल्लेख गर्दै उहाँले राम्रा अभ्यासलाई पस्कनु पत्रकारीताको मुख्य कार्यभार रहेको औंल्याउनुभयो ।
केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभयो । त्यस्तै संस्थाका सल्लाहकार दिवस गुरागाईले विषय प्रवेश गराउनुभयो । सोही क्रममा डाँफे टोलमा वडाले गरेको सार्र्वजनिक जग्गाको संरक्षण स्थल, गठ्ठाघर चोकको भित्रि सडकमा विच्छ्याइएको ब्लक, गठ्ठाघर चोक हुँदै कोरियन अस्पताल जाने सडकको स्थलगत अवलोकन गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्