राजनीति

सूनपा–१ मा सार्वजनिक सुनुवाई सम्पन्न



भक्तपुर, १ असार । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ सूर्यविनायक नगरपालिका वडा नं. १ मा वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

क्रियाशिल पत्रकार मञ्च र सूयविनायक नगरपालिकाको संयुक्त आयोजना आज वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधिले निर्वाचित भएपछि हालसम्म भए गरेका सार्वजनिक सेवा प्रवाहको साथै भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यावरणीय विकासको बारेमा व्यापक छलफल तथा आगामी योजनाको बारेमा विस्तृतमा छलफल गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा सचिव राम श्रेष्ठले वडा कार्यालयले जनताको सेवा, सुशासन, जवाफदेहिताका विषयमा जानकारी गराउनुभयो । नगर कार्यपालिकाबाट रु दुई करोड ६० लाख बराबरको चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा अन्य सामाजिक क्षेत्रहरुमा कार्यसम्पादन गरिएको जानकारी गराउँदै उहाँले उक्त रकम बराबर वडामा ६५ वटा साना तथा ठूला आयोजनाहरु सञ्चालन भएको बताउनुभयो । एक करोड चार लाख ७१ हजार तीनसय छ रुपैंया राजस्व संकलन भएको जानकारी दिँदै उहाँले वडामा लक्षित कार्यक्रम अन्तरगत अपाङ्गता, जेष्ठ नागरिक, महिला, वालवालिका, युवा, विपद् व्यवस्थापन, धर्मसंस्कृति, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा जनताको माग, आवश्यकता र चाहना अनुसार कार्य गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले सचेतनाको विकास, सडकमा पार्कीङ हटाउनुपर्ने, नीतिमात्र नभई नियत सफा बनाउनुपर्ने, प्रवेशद्वार बनाउनुपर्ने, ढल तथा खानेपानीको न्युनतम आवश्यकता पुरा गर्नुपर्ने, आइतवार विदा दिनु नहुने, स्वास्थ्य विमालाई पहिलेको जस्तै बनाउनुपर्ने, वडा कार्यालयको आफ्नै भवन बनाउनुपर्ने लगायतका प्रश्न, गुनासा तथा सुझावहरु प्रस्तुत गरिएको थियो ।

सो क्रममा प्रहरी वृत्त ठिमीका प्रमुख (डिएपी) निसान थापाले भक्तपुरमा लागुऔषधको प्रयोग र विक्रि बढेको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय तहका विकृति हटाउन समुदायन नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । घरभाडामा बस्नेको विवरण राख्न आग्रह गर्दै उहाँले गलत कार्य रोक्न प्रहरीको मुख्य जिम्मेवारी भएको स्पष्ट पार्नुभयो । अपराध नियन्त्रण तथा शान्ती सुरक्षाको लागि हरेक चोकमा गुणस्तरीय सीसी क्यामेरा आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

प्रश्न, गुनासा तथा सुझावहरुलाई सम्बोधन गर्दै वडाध्यक्ष सानुकाजी कायस्थले वडामा १३ वटा पुल, ११ किलोमिटर कालोपत्रे, १० किलोमिटर ढलान गरिएको जानकारी दिँदै आगामी असारमा हिलोमा हिड्नु नपर्ने गरी सडक विकास र विस्तारका कार्यहरु भइरहेको बताउनुभयो । फुटशल, पार्क, वालउद्यान, वडा भवन, नमुना सडक लगायतका भौतिक पूर्वाधारको विकास गर्ने कार्य तिव्र रुपमा भइरहेको उल्लेख गर्दै उहाँले वडामा हाल १६०० भन्दा बढि खानेपानीका धाराहरु वितरण गरी जनतालाई खानेपानीको समस्या सक्दो समाधान गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताको सेवा नै हाम्रो जिम्मेवारी हो । जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै हामीले पूर्वाधार निर्माण, सामाजिक कार्य तथा लक्षित वर्गका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । भौतिक विकासमात्र नभई मानवीय विकासलाई उच्च प्राथमिकता दिएका छौं । जसमा धर्मसंस्कृति, खेलकुद, मठमन्दिर निर्माण तथा संरक्षण, सडक हरियाली, सीसी क्यामेरा जडा तथा मर्मत, बालउद्यान निर्माण गर्ने कार्य अगाडी बढेको लगायतका असंख्य कार्यहरु गरिरहेका छौं ।’
२०७४ साल देखी ०७९ सालसम्म वडाको विकास र समृद्धिको लागि अत्याधिक मात्रामा बजेट तथा योजनाहरु सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले सो पछि वडामा धेरै योजनाहरु संघीय सरकारले कटौती गरेको भन्दै गुनोसो गर्नुभयो । अहिलेको बजेटमा संघीय सरकारबाट वडामा शुन्य रकम भएको गुनासो गर्दै उहाँले चालु योजनाहरुलाई संघले बजेट नदिएपनि प्रदेश र पालिकाबाट भएपनि सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘संघीय सरकारले बजेट नदिँदा योजनाहरु अलपत्र परेका छन् । कृषि उत्पादनको विकास र विस्तार गर्दै बजार व्यवस्थापन गर्ने जिम्मा नै म लिन तयार छु । उत्पादन गनुृस्, बजारको समस्या हुन दिन्न । त्यस्तै आध्यात्मिक कुरा वा योगाको विकास र विस्तार गर्न कुनै कन्जुस्याई हुने छैन । व्यवस्थापनमा समेत समस्या हुँदैन ।’
मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष पुस्करराज बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य कुमार चोलागाई तथा कल्पना नेपालीलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।