काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक महरले बजेट अभावका कारण महिला खेलाडीहरू सो प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुन लागेको समाचारप्रति चिन्ता व्यक्त गरे ।
उनले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत सङ्कलन गरिसकिएको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र खेलकुद क्षेत्रप्रति अन्याय हुने बताए ।
सम्बोधनका क्रममा महरले प्रधानमन्त्रीको सामाजिक सञ्जाल (फेसबुक) को कभर फोटोमा महिला फुटबल टोलीको सामूहिक तस्बिर रहेको उल्लेख गर्दै उक्त सम्मानलाई व्यवहारमा उतार्न आग्रह गरे। प्रधानमन्त्रीले देखाउनुभएको विश्वास र सम्मान बजेट विनियोजनमार्फत प्रतिबिम्बित हुनुपर्नेमा उनले जोड दिए ।
यसैगरी, प्रमुख सचेतक महरले विश्वकप फुटबल प्रतियोगिताको टेलिभिजन प्रशारणमा लिइने अतिरिक्त शुल्कको विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २३औँ विश्वकप फुटबलसँग सम्बन्धित खेलहरू हेर्न नेपाली दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थालाई उनले ‘लुट’ को संज्ञा दिए ।आम नेपाली फुटबल प्रेमीहरूले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा खेल हेर्न पाउने वातावरण निर्माण गर्न उनले माग गरे ।










प्रतिक्रिया दिनुहोस्