काठमाडौँ, ९ असार । अपाङ्गतालगायत विविध कारणले पढाई छोडेको दुई दसकपछि एसईई दिएर राम्रो अङ्कसहित पास गर्नुभएकी लक्ष्मी घिमिरेलाई सम्मान गरिएको छ । अपाङ्गता भएका एकल महिलाका लागि उत्प्ररेरक संस्था पहिचान नेपालले उहाँलाई पढाईलाई पुनः निरन्तता दिएकोमा सम्मान गरेको हो ।
पहिचान नेपालकी कार्यकारी निर्देशक इक्ष्या केसीले अपाङ्गता भएका एकल महिलाको आर्थिक सशक्तिकरणका लागि पहिचान नेपालले अपाङ्गता भएका एकल महिलाको सम्मानजनक जीवनका लागि सहयोग र हौसला प्रदान गर्ने क्रममा लक्ष्मीको जाँगर र उत्साहका लागि सम्मान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गताकै बहाना बनाएर विवाहपछि श्रीमानले छोड्ने प्रवृत्तिका कारण बालबच्चासहित एकल महिलाको जीवन विताउनुपर्दा सडकमा हात फैलाउँदै बाँच्नुपर्ने वाध्यता भएका महिलालाई पहिचान नेपालले सिप सिकाउने र विउँ पूजीसहित काम गर्ने हौसला दिईरहेको छ ।”
पहिचान नेपालकी कार्यकारी निर्देशक केसीले अपाङ्गता भएका महिलालाई साथ दिने कमै हुन्छन्, विवाह भएर बालबच्चा भएपछि छोड्नेहरु बढि हुँदा महिलाले जुनसुकै समस्यामा पनि बालबच्चालाई पाल्ने पढाउने काम गरिरहेकोले उहाँहरुलाई सहयोग गर्न संस्थाले सहयोग गरेको बताउनुभयो । उहाँले अपाङ्गता भएका र संस्थाको सम्पर्कमा आएर विभिन्न सिप सिकेका अपाङ्गता भएका ३० जना महिलाको सफलताको कथा सङ्कलन गरेको र त्यसको प्रकाशनका लागि सहयोग खोजिरहेको बताउनुभयो ।
मध्यपुर ठिमी निवासी ज्ञानुमाया महर्जनले झोल सावुन, धुपवत्ती गर्दै आफ्नो खर्च आफैं कमाउनुहुन्छ । उहाँका श्रीमान दृष्टिविहिन नै हुनुहुन्थ्यो, श्रीमान वितेपछि ज्ञानुमायालाई पहिचान नेपालले धुपबत्ती बनाउने, सावुन, हर्पिक बनाउने तालिम दिएर कमाउन सक्ने बनाउनुभएको छ । एकल जीवन विताईरहनुभएकी दृष्टिविहीन प्रसंसा क्षेत्रीले पनि मसाज केन्द्रमा काम गर्दै आफ्नो बच्चालाई पढाइरहनुभएको छ । एविलिस नेपालका संस्थापक विरेन्द्रराज पोखरेलले अपाङ्गता भएका महिलाहरुले भूगोल, जातजाति, वर्ग अनुसार फरक फरक समस्या झेलिरहेको बताउँदै सञ्चार माध्यमले पनि अब सफलताको, रुपान्तरणको कथा लेख्नुपर्नेमा जोड दिनुभयो । उहाँले अपाङ्गताको क्षेत्रका लागि छुट्याईएको बजेटको कार्यान्वयनमा बदमासी गर्दै कमजोर सहयोगी सामग्री दिने काम पनि भइरहेको बारे खोजी समाचार पनि गरिदिन आग्रह गर्नुभयो ।
पहिचान नेपालले अपाङ्गता भएका महिलालाई सङ्गडित गर्दै अगाडि बढ्न हौसला दिने, पढ्न प्रेरित गर्ने उनीहरुका बालबच्चालाई पढाउन सहयोग गर्ने, सिप सिकाएर विउ पूँजीसहित स्वरोजगार बन्न बाटो देखाउँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्