राजनीति

रास्वपालाई डा. भट्टराईको चेतावनी: प्रदेश खारेजी गरे ठूलो भूल हुनेछ



काठमाडौँ, ११ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजीको एजेन्डा छोडेर सुशासन र विकासमा केन्द्रित हुन सुझाव दिएका छन् ।

रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र संघीयता भत्काउने निर्णय गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै डा. भट्टराईले त्यसो गरिए त्यो ठूलो भूल हुने चेतावनी दिएका हुन्।

उनले भनेका छन्, ‘नयॉं सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेसनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले संघीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुनेछ । पहिलो त विधिको हिसाबले एकातिरआफ्नै नेतृत्वको सकारले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय वीचमा ठूलो विश्वासको संकट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्नसक्छ।

दोश्रो, हाम्रो जस्तो जातीय/राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानीपूर्ण संघर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमति सहित गरिएको पुरानो एकात्मक राज्यको संघीय पुनर्संचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय-क्षेत्रीय द्वन्द र अशान्ति सिर्जना गर्नेछ। जुन कसैको पनि हितमा हुनेछैन।

त्यसैले ‘नदुखेको कपाल डोरी लगाएर दुखाउनु’ सट्टा संविधान संशोधनवारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल ‘चूपचाप सुशासन र विकास’ तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी !’