चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनबाट पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा हुदै छ ।
पार्टीको विधानमा कूल १९ पदाधिकारी रहने व्यवस्था भए पनि यसपटक ६ वटा पदका लागि मात्रै प्रत्यक्ष निर्वाचन हुने भएको छ । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेताका रूपमा बालेन शाह रहने निश्चित छ । बाँकी रहेका पदहरूमध्ये एक खुला उपसभापति, एक महिला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सह–महामन्त्री र एक महिला सह–महामन्त्री पदका लागि मात्रै चुनावी प्रतिस्पर्धा हुन लागेको हो । अन्य पदाधिकारीका पदहरू भने विधानको व्यवस्थाअनुसार समावेशी सिद्धान्तका आधारमा पछि मनोनीत गरिनेछन् ।
खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठ मैदानमा उत्रिएका छन् । त्यस्तै, महिला उपसभापति पदमा सोबिता गौतम, इन्दिरा राना मगर र डा. तोसिमा कार्कीबीच कडा भिडन्त हुने देखिएको छ ।
खुलातर्फको एक महामन्त्रीका लागि मनिष झा, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, रञ्जु दर्शना, सागर ढकाल र गणेश पराजुली लगायतका झण्डै एक दर्जन नेताहरूले दाबी गरेका छन् । यस्तै, सह–महामन्त्री पदका लागि हरि ढकाल, पुकार बम, असिम शाह, रिमा विश्वकर्मा लगायतका युवा नेताहरू चुनावी दौडमा छन् ।










प्रतिक्रिया दिनुहोस्