कालिकोट, १२ असार । जिल्लामा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कालिकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएर मात्र कानुनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्ने निर्णय भएकामा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
जिल्लाका नौवटै स्थानीय तहहरूलाई कानुन निर्माण गरेर नदीजन्य पदार्थ उत्खनन गर्न पटकपटक ताकेता गरे पनि त्यसको उल्लङ्घन गरेका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माले बताए ।
हिउँदभर स्थानीय तहहरूले आवश्यक कानुन नै नबनाई प्राकृतिक स्रोतको मनपरी दोहन गरिरहेको अवस्थामा वर्षायाममा आउन सक्ने बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिमलाई समेत न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय निर्णय लिएको जनाएको छ ।
उक्त निर्णयको विपरीत हुने गरी नदी वा खोला क्षेत्रमा कुनै नदीजन्य पदार्थको चोरी निकासी तथा अवैध उत्खनन वा सङ्कलन कार्य/क्रियाकलाप गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतवानी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्