राजनीति

अरनिको राजमार्ग १५ दिन राति बन्द गरिने



काभ्रेपलाञ्चोक, १३ असार । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ ।

जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी साधन आवागमन बन्द गरिने जनाएको हो ।

उक्त सडक खण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

समितिले सडक निर्माणलाई सहजीकरण गर्न यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्ने समेत जनाएको छ । तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारी साधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।