भक्तपुर, १७ असार । सूर्यविनायक नगरपालिकाले वडा ९ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ ।
वडाध्यक्ष भगवान खत्रीको अध्यक्षतामा आज आयोजित कार्यक्रममा नगर प्रमुख बासुदेव थापा, जिल्ला समन्वय समितिका कार्यवहाक अध्यक्ष सुजता बाडे, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तथा वडा नं. १ देखी १० वटै वडाका वडाध्यक्षहरुको उपस्थितीमा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालबालिकाहरूको अधिकार सुनिश्चित गर्ने तथा स्थानीय विकास प्रक्रियामा बाल सहभागिता अभिवृद्धि गर्ने दीर्घकालीन अभियान सहित वडालाई बालमैत्री घोषणा गरिएको बताइएको छ ।
नगर प्रमुख थापाले बालमैत्री स्थानीय शासनका आवश्यक सूचक तथा मापदण्ड पूरा गर्न विगत तीन वर्षदेखि निरन्तर जनशक्ति परिचालन, अनुगमन, मूल्याङ्कन तथा आवश्यक तयारीका कार्यहरू सञ्चालन गरिएको जानकारी दिनुभयो । सबै मापदण्ड पूरा भएको सुनिश्चित भएपछि मात्रै वडालाई औपचारिक रूपमा घोषणा गरिएको स्पष्ट पार्दै उहाँले नगरपालिका क्षेत्रमा आफु निर्वाचित भएसँगै भौतिक पूर्वाधारको क्षेत्रमा ऐतिहासिक उपलब्धी हासिल गरेको दावी गर्नुभयो ।
हाँले भन्नुभयो, ‘पहिलो चरणमा भौतिक पूर्वाधारको विकास गर्यौ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पर्यावरणलगायतका क्षेत्रहरुका पूर्वाधार विकास भएका छन् । अहिले दोस्रो चरणमा मानवीय विकासलाई उच्च प्राथमिकता दिएर अगाडी बढेका छौं । बालबालिका भविष्यका कर्णधारमात्र होइनन्, वर्तमानका हिस्सेदारी समेत भएकाले सोही अनुसार नगरपालिकाका १० वटै वडालाई बालमैत्री सथानीय शासनयुक्त वडा घोषणा गरेका छौं । घोषणालाई दिगोपना दिन आम स्थानीयवासीको साथ र सहयोग आवश्यक छ । जसको लागि नगरपालिकाले आवश्यक कार्यहरुमा कुनै कमि हुन दिनेछैन ।’
जिसस प्रमुख बाडेले वडाले पुरा गर्नुपर्ने ५१ वटा सूचक तथा नगरपालिकाको थप एक सूचक पुरा गरी सूर्यविनायकका १० वटै वडाहरुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकोमा विशेष धन्यवाद व्यक्त गर्दै तोकिएको सूचक पुरा गर्ने तथ्याङ्कमात्र नभई बालबालिकाको पूर्ण अधिकारलाई स्थापित गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । ‘आज घोषणा गरिएको अन्तिम होइन, यो निरन्तर र सुदृढ हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसलाई उपलब्धीको रुपमा नभई जिम्मेवारीको रुपमा लिनुपर्छ र बालबालिकाको जीवनमा उपभोग हुनुपर्छ ।’
कार्यक्रममा नगरपालिका उपप्रमुख भट्टराई सूचक पुरा गरी साझा प्रतिवद्धताहरुलाई वडा–वडामा पुर्याउन प्रत्येक वडालाई छुट्टा छुट्टै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुपर्ने प्रावधान अनुसार गरिएको जानकारी दिनुभयो । कतिपय नागरिकले प्रत्येक वडा–वडामा घोषणा गर्नुभन्दा एकै पटक नगरपालिकालाई नै घोषणा गरेको भए उत्तम हुने भन्ने विचारलाई खण्डन गर्दै उहाँले वडा–वडामा जिम्मेवारी दिने र लिनको लागि नीतिगत रुपमा नै यस्तो कार्यक्रम गरिएकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘घोषणामात्र होइन, आगामी दिनमा दिगोपनाको लागि पनि यो अपरिहार्यता रहेको छ । यो घोषणा कुनै राजनीतिक दल केन्द्रीत प्रतिवद्धता अनुरुप नभई स्थानीयवासीको जिम्मेवारी र उहाँहरुकै प्रतिवद्धताको लागि हो । अबका दिनमा देख्ने र छुने गरी नभई बालबालिकाले महशुस गर्ने गरि प्रकृया पुरा गरि घोषणा गरिएको छ । जसले बालबालिकाको भाग्य र भविष्यलाई अझ बढि सुन्दर र परिस्कृत बनाउनेछ ।’
नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिका र नगर क्षेत्रभित्रका बालबालिका तथा जेष्ठ नागरिकलाई प्रत्येक घरघरमा जोड्ने अभियान अन्तरगतका उक्त प्रकारका कार्यहरु भइरहेको स्पष्ट पार्नुभयो । नगरपालिकाले बालबालिकाको क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, वातावरणमैत्री, नेतृत्व विकासलगायतका विभिन्न क्षेत्रहरुमा कार्यहरु गरेको उल्लेख गर्दै उहाँले बालबालिकाको पहिचना पूर्ण रपमा स्थापित गर्न सफल भएको दावी गर्नुभयो ।
वडाध्यक्ष खत्रीले बालबालिकाको क्षेत्रमा वडास्तरमा भएका गतिविधिहरुलाई समेटिएको प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गर्नुभयो । वडामा १४ वटा क्लबहरु सञ्चालनमा रहेको जानकारी गराउँदै उहाँले बालबालिकाको क्षेत्रमा चारवटा आधारभुत अधिकारहरु शुनिश्चतताको लागि विशेष प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडाले ५२ वटा सुचक तथा निर्देशिकाहरु पुरा गरेको छ । वडामा विकास तथा सामाजिक कार्यका समितिहरुमा बालबालिकाको अनिवार्य सहभागितालाई अनिवार्य गरेका छौं । बालमैत्री स्थानीय शासयुक्त वडा भोषणा अन्तिम गन्तब्य होइन, यो त जनप्रतिनिधि तथा अभिभावकको जिम्मेवारी थप भएको हो ।’
कार्यक्रममा बालबालिकाले विभिन्न प्रकारका नृत्य, नाटक, झाँकी, खेल तथा कविता बाचन लगायतका मनोरञ्जनात्मक कार्यहरु गरिएको थियो । त्यस्तै बालबालिकाको बृद्धि विकास र विस्तारको लागि योगदान पुर्याउने संघसंस्थालाई सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्