काठमाडौँ, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति व्यङ्ग्य गरेका छन् । विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने बहानामा विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको वास्तविक अनुहार अहिले उदाङ्गिएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले प्रधानमन्त्री तथा वालेन्द्र शाह नेतृत्वको सरकारको शैलीलाई ‘गजबको तरिका’ भन्दै आलोचना गरेका हुन् । विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्ने तर आफ्ना मान्छे भर्ती गर्ने भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि महासचिव पोखरेलको यो प्रतिक्रिया आएको हो। विगतमा बालेन शाहसँगै स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका व्यक्तिलाई नै अध्यादेशमार्फत रिक्त गराइएको राजनीतिक पदमा ल्याइनुले सरकारको दोहोरो चरित्र प्रस्ट पारेको पोखरेलले उल्लेख गरेका छन् ।
महासचिव पोखरेलले भनेका छन्, ‘वालेन सरकारको गजबको तरिका
विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्दै विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको असली अनुहार मेयरको उम्मेदवार बनेका पूर्वसचिवलाई विश्वविद्यालय सेवा आयोगको अध्यक्षको कुर्सीमा पुर्याएर उदांगिएको छ । राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश मार्फ़त रिक्त गरिएको पदमा आफ्नो दलको ख़ास मान्छे भर्ती गर्नेकुरा ‘जान्नेलाई छान्ने’ को गजबको तरिका रहेछ । हैन र ?’










प्रतिक्रिया दिनुहोस्