काठमाडौँ, १९ साउ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुने बताएका छन् ।
आज सङ्घीय संसद्को अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनका सम्बन्धमा जारी छलफलमा भाग लिँदै उनले संस्थाको कार्यक्षमता, स्थिरता र व्यावसायिकतामा जोड दिएका हुन् ।
उनले बारम्बार फेरबदल गर्दा नकारात्मक असर पुर्याउन सक्ने भन्दै सचेत गराए । डा. वाग्लेले राष्ट्र बैंकको सञ्चालक समिति सदस्य सङ्ख्या सातबाट बढाएर नौ पुर्याउने प्रस्तावप्रति असहमति प्रकट गरे ।
समावेशिता र विविधीकरण सकारात्मक पक्ष भए पनि संस्थालाई कार्यमुखी बनाउनु मुख्य चुनौती रहेको उनको तर्क छ। डेपुटी गभर्नरको सङ्ख्या तीन पुर्याउनु पर्ने आवश्यकता नरहेको उनले बताए। बैंकमा हाल १८ जना कार्यकारी निर्देशक रहेको र उनीहरू डेपुटी गभर्नर सरहकै विज्ञ हुने भएकाले दुई जना डेपुटी गभर्नर नै पर्याप्त हुने उनले स्पष्ट पारे।










प्रतिक्रिया दिनुहोस्