काठमाडौँ, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटघाट गर्दै नेपाली काङ्ग्रेसका तर्फबाट बाजुराका सांसद जनकराज गिरी र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जिल्लाको दुर्गम भेगमा वर्षेनि हुने खाद्यान्न अभावको गम्भीर समस्याबारे ध्यान ध्यानाकर्षण गराउनुभएको छ।
भेटका क्रममा प्रतिनिधिमण्डलले स्वामीकार्तिक खापर गाउँपालिकामा मात्रै करिब ६ हजार दलित परिवारको बसोबास रहेको र खाद्यान्न अभावकै कारण बालबालिका तथा सर्वसाधारण कुपोषणको सिकार भइरहेको दर्दनाक अवस्था प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले यो सङ्कटलाई तत्काल रोक्न मन्त्रालयबाट विशेष पहल र आपूर्ति व्यवस्थापन गरिदिन मन्त्रीसमक्ष अनुरोध गर्नुभयो।
सांसद र अध्यक्षको गुनासो सुनिसकेपछि मन्त्री यादवले बैठककै बीचमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धकलाई तत्काल मन्त्रालयमै बोलाएर आवश्यक कदम चाल्न निर्देशन दिनुभयो। मन्त्री यादवले बाजुराका दुर्गम क्षेत्रमा १२ नै महिना खाद्यान्नको सहज आपूर्ति सुनिश्चित गर्न, कर्मचारी खटाएरै भए पनि प्रभावकारी काम गर्न र खाद्य डिपो राखेर बिक्री वितरण गर्न निर्देशन दिनुभएको छ । उक्त स्थानमा वर्षमा दुई पटक मात्र कर्मचारी जाने गरेको गुनासो मन्त्रीलाई राख्नु भएको थियो । दुर्गमका बासिन्दालाई खाद्यान्नको कमी हुन नदिन मन्त्रालय पूर्ण प्रतिबद्ध रहेको र व्यवस्थापनका सबै प्रक्रिया तुरुन्त अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो । उक्त ब्यवस्थापन भएको खण्डमा बाजुरा र कालिकोट दुबै जिल्लालाई सहज हुने जानकारी भएको छ ।










प्रतिक्रिया दिनुहोस्