अर्थ

आठबीसकोट नगरपालिकाका मेयर रवि केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगरपालिकाभित्र सञ्चालन हुने भनिएको दुग्ध सहकारीको अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो । आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका नाममा चिस्यान केन्द्र (चिलिङ सेन्टर) निर्माण र गाडी खरिदका लागि सरकारबाट प्राप्त अनुदानको दुरुपयोग गरिएको पाइएको अख्तियारको भनाइ छ । सहकारीका अध्यक्ष जनक बटालाले डेरी सञ्चालन गर्ने भनी नगरपालिका र प्रदेश सरकारबाट लाखौँ रकम बुझे पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेको र सरकारी बजेटबाट किनिएका गाडी व्यक्तिगत काममा प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता  सुरेश न्यौपानेले जानकारी दिए । 

अनुसन्धानका क्रममा चिस्यान केन्द्र निर्माणका लागि विनियोजित ९१ लाख १७ हजार ८७३ रुपैयाँ र दुग्ध ढुवानीका लागि मिल्क ट्याङ्कर तथा गाडी खरिद गर्न दिइएको ८० लाख २३ हजार ५१ रुपैयाँ गरी कुल १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ हिनामिना भएको देखिएको उनले बताए । मेयर केसीको हकमा भने ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरिएको छ ।

अख्तियारले मेयर रवि केसीसँगै आठबीसकोट नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत ज्ञानकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन र कृषि विकास कार्यालयका कृषि अधिकृत मीन बहादुर केसी, आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीर बहादुर रोकाया, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुन कुमारी चनेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।