Banner News

हामी दण्ड र जरिवानाभन्दा पनि प्रोत्साहनको नीतिमा छौँ : अर्थमन्त्री वाग्ले



काठमाडौँ, २२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तत्काल दण्ड र जरिवानाभन्दा पनि प्रोत्साहनको नीतिमा रहेको बताएका छन् । 

आज मन्त्रालयमा अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न ‘नेशनल लोटरी स्किम’ को औपचारिक शुभारम्भ गर्दै उनले दण्ड र जरिवानाभन्दा पनि प्रोत्साहनको नीतिमा रहेको बताएका हुन् । 

आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को पहिलो घोषणा समारोहलाई सम्बोधन गर्दै उनले सरकार तत्काल दण्ड र जरिवानाभन्दा पनि प्रोत्साहनको नीतिमा रहेको स्पष्ट पारे।

उनले भने, ‘हामी तत्काल दण्ड र जरिवानाभन्दा पनि प्रोत्साहनको नीतिमा छौँ,’ ‘नक्कली कारोबार गर्ने वा बिल नकाट्नेहरूलाई फ्रेण्डली रिमाइण्डर र फ्रेन्डली भिजिट मार्फत औपचारिक अर्थतन्त्रको अंशियार बन्न उत्प्रेरित गरिनेछ।’

बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नु र हरेक आर्थिक गतिविधि पारदर्शी बनाउनु रहेको छ। विगतमा आन्तरिक राजस्व विभागले म्यानुअल पद्धतिबाट यस्ता अभ्यास गरे पनि हाल आधुनिक प्रविधिको प्रयोग गरी ‘क्रिप्टोग्राफिक’ र ‘र्‍याण्डम सेलेक्सन’ विधि अपनाइएको उनले बताए। हालसम्म फोन-पे लगायतका डिजिटल माध्यमबाट भएका ७६ अर्ब रुपैयाँ बराबरका करिब २ करोडभन्दा बढी कारोबारहरू यस प्रणालीमा स्वतः आबद्ध भइसकेका छन्। आगामी दिनमा यो सङ्ख्या र रकममा उल्लेख्य वृद्धि हुने सरकारको अपेक्षा छ ।