काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको बताएका छन् ।
राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक ‘कोशेढुङ्गा’ का रूपमा चित्रण गरेका हुन् । देशलाई वर्तमान राजनीतिक तथा आर्थिक सङ्कटबाट मुक्त गर्न आफ्नो पार्टी बलियो हुनुपर्नेमा जोड उनले दिए ।
विगतका ठुला दलहरूप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाका बिच वर्तमान राजनीतिक समीकरण निर्माण भए पनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको उनको तर्क छ । उनले दैनिक ज्याला–मजदुरी गर्ने श्रमिकदेखि निजी क्षेत्रसम्म अहिले असुरक्षित र आतङ्कित महसुस गरिरहेको दाबी गरे ।
अध्यक्ष लिङदेनले भने, ‘देशमा महँगीले सीमा नाघेको छ र बजारमा कृत्रिम अभाव व्याप्त छ, तर यसबारे बोल्ने कोही छैन । मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको छ । यस्तो अवस्थामा गरिब, सुकुमबासी र आम सर्वसाधारणका लागि उभिने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ ।’










प्रतिक्रिया दिनुहोस्