काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको भन्दै खुसी व्यक्त गरेका छन् । १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति उनले आभार जनाएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएको जनाएका छन् ।
नसर्ने रोग ३० प्रतिशतले घटाउन राष्ट्रिय आयुर्वेद रणनीति (१० वर्षे) तथा २० औषधिमा खुम्चिएको ३७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र GMP सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त ५ वर्षे रणनीतिक योजना लागु गरिएको उनले स्मरण गरेका छन् ।
उनले सरकारलाई ६ बुँदे सुझाव पनि दिएका छन् ।
सरकारलाई पौडेलका ६ सुझाव :
१. वैद्यखानाको प्रगति त्यही ५ वर्षे रणनीतिक योजनाकै प्रतिफल भएकाले यसको हुबहु कार्यान्वयन गरियोस् ।
२. ‘जडीबुटी प्रशोधन केन्द्र’ स्थापनालाई हामीले सुरु गरेको ‘ड्रग R&D युनिट’सँग जोडेर अनुसन्धानमा राज्यले विशेष लगानी गरोस् ।
३. ३५ निःशुल्क औषधिलाई १४४ नयाँसहित देशभरिका ‘नागरिक आरोग्य केन्द्र’मार्फत जनताको घरदैलोमा पुर्याइयोस् ।
४. GMP मापदण्ड हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधि निर्यात गर्न कूटनीतिक पहल चुस्त बनाइयोस् ।
५. कच्चा पदार्थ खरिदलाई व्यवस्थित गर्दै जडीबुटी खेतीलाई विशेष प्रोत्साहन गरियोस् ।
६. विपन्नको पहुँच सुनिश्चित गर्न आयुर्वेदका विशिष्टीकृत सेवा र औषधिलाई स्वास्थ्य बीमामा आबद्ध गरियोस् ।










प्रतिक्रिया दिनुहोस्