तनहुँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनुभएको छ।
आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा आउनुभएका उहाँले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राख्नुभएको हो। राज्यको कमजोर आम्दानीका कारण ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई चिर्न करको दायरालाई फराकिलो बनाएर थोरै-थोरै जम्मा गरी आम्दानी बढाउने र आफ्नै आम्दानीले देश विकास गर्ने नीति लिएको उहाँले बताउनुभयो।
जनताको विकास सम्बन्धी आशा र आकाङ्क्षाहरूको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र यहीबेला दातृ निकायको ऋण पनि महँगो बनेको अवस्थामा मुलुक आफैँ धनी हुने अवस्थामा जानुको विकल्प नरहेको उहाँको भनाइ छ।
“विगतदेखि नै हामीले देखिरहेका छौँ। ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ। सरकारको आम्दानी १२ सय ५० अर्ब हाराहारी मात्रै छ,” अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, “अहिले हामीले करको दर फराकिलो बनाएको र कर तिर्न प्रोत्साहनका कार्यक्रम ल्याएको यसैका लागि हो।”
अर्थमन्त्री वाग्लेले ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास चाहिँ जसरी पनि गरिदिनुपर्छ भन्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने पनि बताउनुभयो । करको दायरा फराकिलो बनाउँदा नयाँ क्षेत्रमा कर थपियो भन्ने गुनासाहरू सम्बोधन गर्न सरकारले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई बचाउनेमा आश्वस्त रहन पनि उहाँले आग्रह गर्नुभयो।
सरकारले २१ सय २४ अर्बको बजेटमार्फत निजी क्षेत्रलाई उद्वेलित बनाएर ६६ खर्बको अर्थतन्त्र चलायमान बनाउन खोजेको पनि उहाँले प्रस्ट पार्नुभयो । अब छिट्टै प्रवासी नेपालीहरूलाई पनि नेपालमा लगानी गर्ने वातावरण अघि बढाउने पनि उहाँले बताउनुभयो ।
बढ्यो नेप्से
काठमाडौँ, २८ साउन । सेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ८.८१ अङ्कले बढेर २६५१.२१ विन्दुमा पुगेर बन्द भएको हो। कुल १ करोड २ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। यसबाट कुल ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज बजारमा कुल सूचीकृत कम्पनीहरूमध्ये १७१ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ८६ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी १९ कम्पनीको मूल्य भने स्थिर रहेको छ। आज म्युचुअल फन्ड र इन्भेष्टमेन्ट बाहेक सबै समूहमा सुधार देखिएको छ । यद्यपि सबै समूहमा १ प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ ।
आज सर्वोत्तम पेन्टसका लगानीकर्ताले सबैभन्दा धेरै १५ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको मूल्य १४.९९ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको १३.०२ प्रतिशत र घलेम्दी हाइड्रोको मूल्य ११.९० प्रतिशतले बढेको छ। आज सन् २०८६ मा परिपक्व हुने प्रभु बैंकको डिवेञ्चरमा सर्वाधिक १०.४५ प्रतिशत गिरावट आएको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रह्यो । यो कम्पनीको २९ करोड ९८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, र सेन्ट्रल फाइनान्स पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।










प्रतिक्रिया दिनुहोस्