एजेन्सी, २९ साउन । एयर इन्डियाले आफ्ना सबै पाइलटका लागि अनिवार्य ‘ड्रग स्क्रिनिङ’ (लागुऔषध परीक्षण) सुरु गर्ने निर्णय गरेको छ ।
समाचार संस्था एएफपीका अनुसार, परीक्षण बिहीबारदेखि सुरु भएको छ । यो नियम एयर इन्डियाका सबै पाइलटमा लागु हुनेछ ।
मौजुदा नियमअनुसार, एयरलाइन्सहरूले प्रत्येक वर्ष आफ्ना ‘फ्लाइट क्रु’का कम्तीमा १० प्रतिशत सदस्यको ‘साइकोएक्टिभ’ पदार्थ सेवनसम्बन्धी आकस्मिक परीक्षण गर्नुपर्ने व्यवस्था छ । तर, एयर इन्डियाले अब आफ्ना सबै पाइलटको परीक्षण गर्ने निर्णय गरेको हो ।
यो कदम अगस्ट ४ मा भएको एउटा गम्भीर हवाई घटनापछि चालिएको हो । फुकेटबाट नयाँ दिल्लीका लागि उडान भरेको एयर इन्डियाको एयरबस ए३२० विमानले उडान भरेलगत्तै करिब ३०० फिट उचाइ गुमाएको थियो । घटनामा कम्तीमा २४ जना यात्रु घाइते भएका थिए ।
स्थानीय सञ्चारमाध्यमका रिपोर्टमा विमानका क्याप्टेनले गाँजा सेवन गरेको र त्यसको पुष्टि गर्ने परीक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको दाबी गरिएको थियो ।
यद्यपि, एयर इन्डियाले भने ती परीक्षणको नतिजाबारे आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताएको छ ।










प्रतिक्रिया दिनुहोस्