राजनीति

आन्तरिक संवादबाटै विवादको समाधान खोजौँ : उपसभापति शर्मा



काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवादलाई अदालती प्रक्रियामा अल्झाउनुको सट्टा आन्तरिक संवाद र सहमतिका माध्यमबाट टुङ्ग्याउनु पर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै शर्माले ‘जित र हार’ को मनोविज्ञान त्यागेर १५औँ महाधिवेशनतर्फ केन्द्रित हुन आग्रह गरे । 

उपसभापति शर्माले गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै रिट खारेज गरेपछि पार्टीभित्र नयाँ ढङ्गले संवाद सुरु गरिएको जानकारी दिए । उनले भने, ‘अदालतले गर्ने फैसला कुरेर बस्ने र त्यसपछि कोही जितेको र कोही हारेको मनोविज्ञान बोकेर १५औँ महाधिवेशनमा जानु पार्टीका लागि हितकर हुँदैन,’ ‘त्यसैले हामीले जेठ १६ गते नै सहमतिका लागि ७ बुँदे लिखित प्रस्ताव अघि सारेका हौँ ।’

उनले आन्तरिक विवादको हल मिडियामा कराउनु भन्दा संयम र परिपक्व ढङ्गले संवादबाटै खोज्नुपर्ने बताए ।  शर्माका अनुसार पार्टीभित्रका विमतिहरूलाई १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक एजेन्डाका रूपमा मौखिक वा लिखित दुवै रूपमा प्रस्तुत गर्ने अवसर दिइनुपर्छ ताकि कसैले पनि आफूलाई पाखा लगाइएको महसुस नगरोस् ।