राजनीति

प्राधिकरण सुधारका लागि गम्भीर समीक्षा र सुधार आवश्यक : अध्यक्ष घिसिङ



काठमाडौँ, १ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नाफा संकुचन भइरहेको भन्दै यस विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार प्राधिकरणले ४१औँ वर्ष पूरा गरेको अवसरमा शुभकामना दिँदै उनले विद्युतको विश्वसनीय सेवा, ऊर्जा आत्मनिर्भरता, विद्युत निर्यातको विस्तार र समृद्ध नेपालको राष्ट्रिय संकल्पमा प्राधिकरणको भूमिका अझ प्रभावकारी बन्नेमा विश्वास व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपालमा विद्युत उत्पादन, प्रसारण र वितरणको नेतृत्व गर्दै आएको नेपाल सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले अनेक आरोह–अवरोह पार गर्दै ४१औँ वर्ष पूरा गरेको अवसरमा हार्दिक बधाई तथा शुभकामना। कुनै समय ‘लोडसेडिङ गराउने संस्था’का रूपमा चिनिएको प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ पछि आफ्नो पहिचान नै बदल्यो। लोडसेडिङको अन्त्यदेखि झण्डै शतप्रतिशत विद्युतीकरणसम्म, विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्नेदेखि घाटाको संस्था नाफामा आई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अवस्थासम्मको यात्रा आफैंमा परिवर्तनको एउटा प्रेरणादायी कथा हो। २०७२/७३ नेपालको ऊर्जा इतिहासको ‘टर्निङ प्वाइन्ट’ थियो। त्यसअघि अँध्यारो, अभाव र घाटाको कथा थियो; त्यसपछि उज्यालो, आत्मविश्वास र सम्भावनाको नयाँ अध्याय सुरु भयो। यस यात्राले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ-सार्वजनिक संस्थान राष्ट्रका बोझ मात्र होइनन्, सक्षम नेतृत्व, इमानदार व्यवस्थापन र स्पष्ट उद्देश्य पाए राष्ट्रिय समृद्धिका बलिया संवाहक बन्न सक्छन्। आज प्राधिकरणको नाफा संकुचन भइरहेको (आ व २०८१/८२ को १२ अर्ववाट आ व २०८२/८३ मा करअघिको नाफा करिव ५ अर्व मात्र रहेको) विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक छ। तर यसको विकल्प प्राधिकरणलाई कमजोर बनाउनु होइन, अझ सक्षम, सबल, व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउनु हो । विद्युतको विश्वसनीय सेवा, ऊर्जा आत्मनिर्भरता, विद्युत निर्यातको विस्तार र समृद्ध नेपालको राष्ट्रिय संकल्पमा प्राधिकरणको भूमिका अझ प्रभावकारी बनोस्। नेपाल विद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सवको हार्दिक शुभकामना ।’