Banner News

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन



काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि निर्देशन दिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीहरूसँगको हालैको परामर्शका आधारमा कार्यालयले बुधबार एक पत्र जारी गर्दै संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नियोगहरूलाई आफ्ना कामकारबाहीमा स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरेको हो ।

जारी पत्रअनुसार अबदेखि सबै सार्वजनिक निकायहरूले स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन नै रोज्नुपर्नेछ । यस व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सार्वजनिक निकायहरूले आह्वान गर्ने बोलपत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्नेछ । साथै, स्वदेशी उत्पादनको प्रयोग भए/नभएको सुनिश्चित गर्न नियमित अनुगमन गरिने र त्रैमासिक रूपमा निरीक्षण गर्ने प्रावधानसमेत पत्रमा उल्लेख गरिएको छ ।