एजेन्सी, ६ भदौ । अमेरिका र क्यानडाबीच ३ दिनसम्म चलेको व्यापार सम्झौता वार्ता विफल भएको छ।
वार्ता विफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मध्यरातदेखि क्यानडाको २० अर्ब डलर बराबरका सामानमा ५० प्रतिशत भन्सार महसुल लागू गरेका छन्।
यो भन्सार महसुल क्यानडाबाट अमेरिका पठाइने कुल सामानको करिब ५ प्रतिशत हो। अमेरिका र क्यानडाका अधिकारीहरूले वासिङ्टन डीसीमा तीन दिनसम्म वार्ता गरेका थिए, तर व्यापार सम्झौताले अन्तिम रूप पाउन सकेन।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले जति भन्सार महसुल लगाउँछ, क्यानडाले पनि त्यति नै जवाफ दिने बताएका छन्। दुई देशबीच व्यापार सम्झौता हुन नसकेपछि अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) ले सामाजिक सञ्जालमा पोस्ट गर्दै क्यानडाले अमेरिकासँगको साझेदारीको निकै राम्रो मौका गुमाएको बताएका छन्।
यूएसटीआरका अनुसार, उनीहरूले क्यानडालाई कुनै पनि ठूला निर्यातकर्ताको तुलनामा सबैभन्दा राम्रो अफर दिएका थिए तर, क्यानडाका नयाँ मागहरू र पहिले गरिएका वाचाहरूबाट पछि हटेका कारण यो सम्झौता हुन सकेन।










प्रतिक्रिया दिनुहोस्