विश्व

हवाई आक्रमण रोक्न रुसी राष्ट्रपति पुटिनको आदेश



एजेन्सी, २१ भदौ । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनर मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गम्भीर छलफल गरेका छन् ।

सेप्टेम्बर ५ मा मस्को पुगेका उनीहरू क्रेमलिनमा पुटिनसँग भेटवार्ता गरेपछि आज, सेप्टेम्बर ६ मा युक्रेनको राजधानी किभ जाँदै छन् ।

अमेरिकी दूतहरूको कूटनीतिक भ्रमणलाई ध्यानमा राख्दै रुसले किभमा तीन दिनका लागि हवाई आक्रमण रोक्ने निर्णय गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुष्टि गरेका छन् । उनका अनुसार पुटिनले यस्तो आदेश दिएका हुन् । त्यसको जवाफमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि कुनै हवाई वा ड्रोन हमला नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूतहरूमार्फत ‘युद्ध अन्त्य गर्ने एउटा ठोस प्रस्ताव तथा अवधारणा’ मस्को पठाइएको बताएका छन् । पुटिनका वैदेशिक मामिला सल्लाहकार युरी उसाकोभले पनि अमेरिकी टोली गम्भीर तयारीका साथ मस्को आएको र शान्ति प्रक्रियाका लागि केही नयाँ विचार प्रस्तुत गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्प पुनः सत्तामा आएयता विट्कफ र कुशनरको यो पहिलो युक्रेन भ्रमण हुनेछ । उनीहरूले आज राष्ट्रपति जेलेन्स्कीसँग भेट गरी मस्कोमा पुटिनसँग भएका छलफल तथा प्रस्तावका विषयमा जानकारी गराउने अपेक्षा गरिएको छ ।

वार्ता प्रक्रिया अघि बढाउने प्रयास भए पनि भूभागको स्वामित्व र युक्रेनको भविष्यको सुरक्षा ग्यारेन्टीजस्ता मुख्य विषयमा रुस र युक्रेनबीच अझै गहिरो मतभेद कायम छ । विशेषगरी डोनबास र क्रिमियाको अवस्थाका साथै युक्रेनको सम्भावित नेटो सदस्यतालाई लिएर दुवै पक्षको धारणा फरक छ । युक्रेनले आफ्नो भूभाग त्यागेर वा राष्ट्रिय सम्प्रभुतामा सम्झौता गरेर शान्ति कायम गर्न नसकिने धारणा दोहोर्‍याउँदै आएको छ ।

अमेरिकी दूतहरूको मस्को भ्रमणले लामो समयदेखि रोकिएको रुस–युक्रेन संवादलाई पुनः सक्रिय बनाउने संकेत दिएको बताइएको छ ।