नुवाकोट, २२ असोज । नारायण थापा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि राहत सामग्री सहयोग गरेको छ।
मण्डलीले बाढीपीडितका लागि नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्रीमा १५ हजार २५० किलो चामल, ६ हजार १२५ किलो दाल र २ हजार लिटर खाने तेल रहेका छन्। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत होमनाथ दाहालले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढीबाट प्रभावित परिवारको लागि आज राहत स्वरुप चामल, दाल र तेल हस्तान्तरण गर्नुभएको छ । हाल दशैको समयमा खाद्यान्न अभाव भएको उचित समयमा राहत वितरण गर्नुभएको छ ।
राहत वितरण गर्न यहाँसम्म आउनुभएको सबै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सबै सदस्यहरुलाई धन्यवाद दिनुभयो । यस्तैगरी कार्यक्रममा पुर्वधार विकास कार्यालय नुवाकोटका इन्जिनियर रबिन खातीले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढी पीडितका लागि खाद्यान्न ल्याउनुभएको छ, यसले खाद्यान्नको अभाव भएको यस जटिल अवस्थामा राहत वितरण गर्नुभएकोमा मणडलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निलम बाबु ढुङ्गेलले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आपत्कालिन अवस्थामा राहत आएको थियो हाल दाताहरुको कमिले खाद्यान्नको चरम अभाव भएको अवस्थामा तपाईहरुले आज खाद्यान्न ल्याईदिनुभयो । आज मात्र नभएर अन्य समयमा पनि सहयोगको अपेक्षा राखेका छौ आउने दिनहरुमा हाम्रो नगरपालिका र वडाको तर्फबाट गर्नुपर्ने सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाढीबाट प्रभावित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्याउने तथा खाद्य आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको मण्डलीले जनाएको छ। गत भदौ १० मा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीका कारण घर, सडक, पुल तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको थियो। सरकारको प्रारम्भिक सर्वेक्षणअनुसार करिब ७ हजार ५७० घरमा क्षति पुगेको र करिब ३२ हजार ९०० जना प्रभावित भएको उल्लेख गरिएको छ।
मण्डलीका अनुसार उक्त राहत सहयोग जलवायु उत्थानशीलताका लागि सञ्चालन भइरहेको ‘Build Hope!’ अभियानअन्तर्गत गरिएको हो। अभियानले बाढी, भारी वर्षा, अत्यधिक गर्मीलगायत जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग गर्नुका साथै विपद्को जोखिम न्यूनीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने उद्देश्य राखेको छ। मण्डलीका एक प्रतिनिधिले विपद्का कारण परिवार तथा जीवनयापनको आधार गुमाएर कठिनाइमा रहेका प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै राहत सहयोगले उनीहरूको दैनिक जीवन पुनःस्थापना गर्न केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। राहत सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी मण्डलीका विश्वासीहरूले पनि बाढीपीडितहरू छिट्टै सामान्य दैनिक जीवनमा फर्कन सकून् भन्ने कामना गरेका थिए।
परमेश्वरको मण्डलीका विश्वासीहरूले नेपालमा यसअघि पनि आपत्कालीन राहत, रक्तदान, वातावरण सरसफाइ तथा पुनःस्थापनालगायत विभिन्न सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ। सन् २०१५ को विनाशकारी भूकम्पका समयमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्नुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको मण्डलीको भनाइ छ।
मण्डलीका अनुसार नेपालमा हालसम्म ७२ हजार ६८८ जनाले १ हजार ८४ वटा सामाजिक सेवाका गतिविधिमा सहभागिता जनाएका छन्। मानवीय तथा सामाजिक सेवाका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न निकायबाट प्रशंसा तथा कदरपत्र प्राप्त भएको पनि मण्डलीले जनाएको छ।
मण्डलीले बागमती प्रदेशका भरतपुर र काठमाडौं, कोशी प्रदेशको सुन्दरहरैंचा, लुम्बिनी प्रदेशको नेपालगन्ज तथा कर्णाली प्रदेशको वीरेन्द्रनगरलगायत विभिन्न स्थानमा वातावरण सरसफाइ तथा समुदाय केन्द्रित सेवामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। त्यसैगरी स्थानीय समुदायमा रगतको अभाव कम गर्न नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। मण्डलीका अनुसार ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ अन्तर्गत नेपालमा हालसम्म ५४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
परमेश्वरको मण्डलीको स्थापना सन् १९६४ मा दक्षिण कोरियामा भएको हो। मण्डलीका अनुसार विश्वका १७५ राष्ट्रका ७ हजार ८०० भन्दा बढी क्षेत्रमा करिब ४० लाख विश्वासी रहेका छन्। मण्डलीले सामाजिक सेवा, वातावरण संरक्षण, रक्तदान तथा विपद् राहतलगायत क्षेत्रमा विश्वव्यापी रूपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। मण्डलीका अनुसार यस्ता सामाजिक तथा मानवीय सेवाका लागि विभिन्न देशका सरकारी तथा गैरसरकारी निकायबाट ६ हजार २०० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त भएका छन्।










प्रतिक्रिया दिनुहोस्