काठमाडौँ, २४ असाेज । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने आइतबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ ।
पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ ।










प्रतिक्रिया दिनुहोस्