मकवानपुर, ५ कार्तिक । बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बुधबार दिउँसो ब्रेक फेल भएर अटो अनियन्त्रित भई दुर्घटना भएको हो । भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो दुर्घटना हुँदा बकैया गाउँपालिका–५ भनौरा निवासी ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीया श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ का ८ वर्षीय सन्देश कुमार मुक्तान घाइते भएका थिए ।
घाइतेहरूलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको थियो । त्यहाँबाट सन्तबहादुर र शान्तिमायालाई थप उपचारका लागि चितवनको भरतपुर रिफर गरिएको थियो ।
भरतपुर लैजाने क्रममा सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएपछि हेटौँडा अस्पताल ल्याइएको थियो । चिकित्सकले उनलाई अपराह्न ५:२० बजे मृत घोषणा गरेका थिए । शान्तिमाया माझीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने सन्देश कुमार मुक्तान सामान्य घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्