काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् ।
शुक्रबार रौटतहको गरुड़ामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरि षड्यन्त्र गरिरहेको उल्लेख गरे ।
वर्तमान सरकारलाई अन्य दलबाट कुनै थ्रेट नभएपनि रास्वपाभित्रैबाट असफल बनाउनेगरि षड्यन्त्र रचिएको र छिट्टै त्यो जनताले थाहा पाउने बताए । रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्व उपसभापति तथा वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउनेगरि मोर्चाबन्दी कसेको आजपा अध्यक्ष साहको दाबी छ ।
उनले सभापति लामिछानेको यसअघि सम्पन्न भएको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले पूनः धार्मिक यात्राको लागि भारत निस्किएको प्रसंगलाई पनि शंकाको दृष्टिले हेरिनुपर्ने उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्लेसमेत भारत भ्रमणमा रहेको सन्दर्भ उल्लेख गर्दै साहले रास्वपाको कोर टिमको तारन्तारको भारत भ्रमणलाई सामान्य रुपमा हेरिन नहुने उनको भनाई छ ।










प्रतिक्रिया दिनुहोस्