राजनीति

सरकारले पत्रकार पक्राउको वास्तविकता सार्वजनिक गर्न विश्वप्रकाशको माग



काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्। 

उनले स्वतन्त्र तर उत्तिकै मर्यादित प्रेसको पक्षमा रहेको स्पष्ट पार्दै गलत तथा भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित विधि रहेकाले तिनैको अनुसरण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

संविधानप्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुन्ड्याउने गैरकानुनी धन्दा बन्द गर्न र पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने उनको माग छ।

पक्राउ परेका पत्रकार छुटिसके र कुरा सकियो भन्दैमा यस्तो किन गरियो, निर्देशन कसको थियो र जिम्मेवारी कसले लिने भन्ने मुख्य प्रश्नको जवाफ जरुरी रहेको उनले बताएका छन्।

केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतङ्क सिर्जना गर्ने व्यक्तिको पहिचान गरेर सार्वजनिक गर्न सरकारले नचाहेको उल्लेख गर्दै उनले अहिले सञ्चारगृहभित्रै छिरेर पत्रकार पक्राउ पर्दा प्रधानमन्त्री कार्यालयले गिरफ्तारीमा आफूहरूको संलग्नता नरहेको स्पष्टीकरण दिएकोप्रति आपत्ति जनाएका छन्। 

प्रधानमन्त्री कार्यालय संलग्न थियो वा थिएन भन्ने मुख्य विषय नभई मुलुकको चौथो अङ्गमाथि यस्ता हरकत हुँदा सरकार स्पष्टीकरण दिएर पन्छिने वा सरकारका रूपमा प्रस्तुत हुने भन्ने प्रश्न मुख्य रहेको उनको भनाइ छ।