Banner News

गैर नागरिकता सम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता



काठमाडौँ, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।

आज गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले गैर आवासीय नेपाली सङ्घलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले हरेक गैरआवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जाेगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए । उनले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवर्द्धनमा सहयोग पुर्याउन आवश्यक रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैरनागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।