राजनीति

मन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग



काठमाडाैँ, २० पौष । जेनजी मुभमेन्ट, नेपालले सुशीला कार्कीको नेतृत्वमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । 

मन्त्री घिसिङमाथि भारतसँग गरिएको विद्युत् सम्झौतामार्फत नेपाललाई करिब ४३ करोड रुपैयाँको घाटा पुर्‍याएको, नियमनकारी निकायको स्वीकृतिबेगर कमिसनको खेलमा संलग्न भई राज्यलाई नोक्सान पुर्‍याएको गम्भीर भ्रष्टाचार आरोप पनि लगाइएको छ । जेनजी मुभमेन्टले घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेको उल्लेख गर्दै कुनै पनि राजनीतिक संरक्षण नदिई कडा कानुनी कारबाही गर्न र दोषी ठहर भए कालकोठरीमा राख्न माग गरेको छ ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो विषय केवल नीतिगत त्रुटि होइन, राज्यविरुद्धको आर्थिक अपराध हो । नागरिक सरकारको नाममा सत्ता कब्जा गर्ने, पदको दुरुपयोग गर्ने र भ्रष्टाचारलाई संरक्षण दिने कार्य अब सह्य हुने छैन । कुलमान घिसिङ र गोविन्द नारायणलाई तुरुन्त बर्खास्त नगरिए अझ सशक्त, संगठित र निर्णायक जनप्रतिरोध अघि बढाइनेछ ।”

खुलेआम राजनीतिक दलका गतिविधिमा संलग्न भएको भन्दै सरकारको दल निरपेक्ष चरित्रमाथि मुभमेन्टले प्रश्न उठाएको हो । भाद्र २३ गते नवोदित पुस्ताले पवित्र उद्देश्यका साथ सुरु गरेको विद्रोहलाई भाद्र २४ गते कार्कीको समूहले अपहरण गरी देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाइएको छ । शीतल निवास, सर्वोच्च अदालत, सिंहदरबारलगायत स्थानमा आगजनी, तोडफोड र हिंसा भएको उल्लेख गर्दै त्यसबाट मुलुक राज्यविहीनताको खतरनाक अवस्थामा पुगेको दाबी गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “आफूलाई नागरिक र दलनिरपेक्ष सरकारका रूपमा प्रस्तुत गर्ने सरकारले आफ्नै पदाधिकारीलाई खुला रूपमा पार्टी गतिविधिमा संलग्न हुन दिएको तथ्यले यो सरकार वास्तवमा कसको हो भन्ने प्रश्न नेपाली जनतामाझ गहिरिँदै गएको छ ।”