राजनीति

जेनजीका जायज मागको विरोध गरेका छैनौँ : एमाले



काठमाडाैँ, २ फागुन । नेकपा एमालेका आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जेनजी आन्दोलनका जायज पक्षको आफ्नो पार्टीले विरोध नगरेको दाबी गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलन शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा र आगजनीका घटनाको मात्रै एमालेले विरोध गरेको बताएका हुन् ।

उनले भने, ‘जेनजी पुस्ताले सुशासनको, भ्रष्टाचार न्यूनीकरण, सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने जुन कुरा उठाएका थिए, त्यो त हामीले सुरुवात गरिसकेका थियौँ,’ ‘त्यसकारण भ्रम नपरोस् जेनजी पुस्ताले उठाएका जायज रूपान्तरणका मागमा एमालेले विरोध गरेको छैन ।’

एमालेले हिंसा, आगजनी र विध्वंसमा मात्रै कुरा उठाएको शाहीले बताए । उनले भने, ‘हामीले कहाँ प्रश्न उठाएका छौँ भने, हामीले भन्नेगरेका छौँ- हामीलाई हिंसा स्वीकार्य छैन । हामीलाई विध्वंस स्वीकार्य छैन । हामीलाई दण्डहीनता किमार्थ स्वीकार्य छैन,’ ।