राजनीति

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिद्वारा पार्टी परित्याग



काठमाडौँ, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् ।

हाल पार्टीको केन्द्रीय महिला वतथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् । विज्ञप्ति जारी गर्दै उनले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताएकी छिन् । यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको भन्दै रास्वपाका केही नेताहरुले पार्टी छोडेका थिए ।

उनले भनेकी छिन्, ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु ।’