राजनीति

लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक : नेता पुन



रोल्पा, ७ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने बताएका छन् ।

गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन् ।

पुनले भने, ‘काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर गएपछि संघीयता चाहिन्छ भन्ने । काठमाडौंमा सुकुमबासी, ठेलागाडामा व्यापार गर्नेहरू र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा झरेपछि सुकुम्बासीको पक्षमा छौं भन्ने । जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ । हामी नयाँ हौं भन्ने साथीहरूलाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न म आग्रह गर्न चाहन्छु ।’