राजनीति

१० हजारभन्दा बढिको सहभागितामा महेश बस्नेतको ‘रोड सो’



भक्तपुर, १७ फागुन । नेकपा (एमाले)का सचिव तथा भक्तपुर क्षेत्र नं. २ एमालेका प्रतिनिधिसभा उम्मेद्वार महेश बस्नेतले १० हजारभन्दा बढी भक्तपुरवासीको सहभागितामा बृहत मोटरसाइकल र्याली गर्नुभएको छ ।

आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभाका निर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन क्षेत्र नं. २ अन्तरगतका सूर्यविनायक र मध्यपुर नगरपालिका क्षेत्रका सम्पूर्ण वडा केन्द्रीत ‘रोड सो’ आयोजना गरिएको हो । एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज भक्तपुरको सल्लाघारीबाट शुरु भएको उक्त ‘रोड सो’ राधेराधे, बोडे, लोकन्थली, कौशलटार, बालकोट, शिरुटार, चित्रपुर, गाम्चा, गुण्डु, पाण्डुबजार, सूर्यविनायक चोक, डोलेश्वर, आदर्श चोक हुँदै सूर्यविनायक नगरपालिका वडा नं. ५ चक्रपाणी चोकमा पुगेर कोणसभा गरी सम्पन्न भएको छ । बस्नेतले र्यालीसँगै बोडे, बालकोट, गाम्चा, गुण्डुलगायतका स्थानमा चुनावी एजेण्डाहरुलाई जनताका माझ प्रस्तुत गर्नुभयो ।

र्यालीमा पाँच हजारभन्दा बढी मोटरसाइकल तथा दर्जनौं गाडीहरुमा प्रत्यक्ष मतदाताहरुको उपस्थितीमा रोड सो आयोजना गरिएको थिए । र्यालीमा सहभागीहरुले ‘देशले रोजेको, भक्तपुरले खोजेको’ महेश बस्नेत रहेको उल्लेख गरे । ‘महेश बस्नेतको जीत, भक्तपुरवासीको हित’ भएको उल्लेख गर्दै महेश बस्नेत भक्तपुरको नेता मात्र नभई विकास र समृद्धिको ब्राण्ड भएकाले भक्तपुरमा बस्नेतको हार भन्ने कल्पनाभन्दा बाहिरको कुरा भएको दावी गरिएको छ ।
‘म शासक हैन, भक्तपुरवासीको सेवक हुँ । भक्तपुरका अधुरा सपना पुरा गर्ने मेरो संकल्प हो । अबका दिनमा देश छोड्ने हैन, देश बदल्ने समय हो । विगत तीन वर्षमा भक्तपुरवासी अभिभावक विहिन जस्तो बनि निराश हुनुभएको छ, अब त्यो बन्नु पर्दैन । म तपाईहरुकै आवाज हुँ, तपाईहरुकै दुःख सुकको सारथी हुँ ।’ उहाँले भन्नुभयो ।
भक्तपुरवासीको एक मत आफ्नो लागि नभई जनताकै भाग्य र भविष्यको लागि प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘अब माग्ने हैन, बदल्ने समय हो । विगतमा एमालेले बोलेर हैन, गरेर देखाएको विकासका प्रमाणहरु तपाईहरुकै घरआँगनको वरिपरि रहेका छन् । सडक, विजुली, ढल, पुल, विद्यालय, हनुमन्ते करिडोर, पार्कलगायतका असंख्य कार्यहरु सपना होइनन्, ति एमाले र मेरो नेतृत्वमा भएका प्रमाणहरु हुन् ।’
एमाले चुनावको बेलामात्र देखिने पार्टी नभई संकटमा समेत जनताको साथमा उभिने गरेको विगतको भुकम्प, कोरोनालगायतका संकटकालिन अवस्थाहरुमा गरेका सामाजिक तथा जनजीविकाको पक्षमा गरिएका कार्यहरु प्रमाणहरु जनताको नजरमा नै रहेको स्मरण गर्दै नेता बस्नेतले भन्नुभयो, ‘अरुले वाचा गर्छन तर एमालेले पुरा गर्छ । देश प्रयोगशाला होइन, अनुभवीको हातमा दिनुपर्छ । विगतको हाम्रो कामले बोल्छ, एमालेले समृद्धिको ढोका खेल्छ ।’
कोणसभालाई सम्बोधन गर्दै नेता बस्नेतले देशको माटो बचाउन र राष्ट्रलाई जोगाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै आफ्नो उम्मेदवारी मात्र नभई नयाँ योजना र कार्यक्रमको लागि भएको उल्लेख गर्नुभयो । ‘भक्तपुरको पहिचान, विकासको अभियान’ रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुरलाई राजधानीको छाँया होइन, नमुना सहर बनाउनु हो । इतिहासलाई जोगाउँदै भविष्य बनाउने जिम्मेवारी म पुरा गर्नेछु । कागजमा सपना होइन, व्यवहारमा कार्य सम्पादन गर्नेछु ।’
कार्यक्रममा अध्यक्ष बचन देउजाले महेश बस्नेतको उम्मेदवारी भक्तपुरको विकास र समृद्धिको लागि मात्र नभई देश बचाउने र जलाउनेबीचको लडाई भएको बताउनुभयो । देशलाई शक्तिराष्ट्रहरुको क्रिडास्थल बनाउनबाट जोगाउन र भक्तपुरका जनताको भावनालाई प्रतिनिधिसभामा वा कानुन निर्माण गर्ने ठाउँमा पुर्याउन महेश बस्नेतको विकल्प नभएको उल्लेख गर्नुभयो ।