Banner News

चुनाव प्रचार प्रसारको आज अन्तिम दिन: मध्यरातदेखि मौन अवधि, उल्लंघन गरे उम्मेदवारको मनोनयन रद्द गरिने



काठमाडौँ, १८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ ।

राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ ।  यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । आयोगका अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । 

त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा उक्त उम्मेदवारको मनोनयन नै रद्द गरिने छ ।