राजनीति

अध्यक्ष ढकालद्वारा मतदान



काठमाडौँ, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ ।

मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताउनुभयो। उहाँले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने अपेक्षा व्यक्त गर्नुभयो। त्यस्तो नेतृत्वबाट स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक भएको बताउनुभयो। निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै अपेक्षित विकास र समृद्धि हासिल हुन सक्ने उहाँको भनाइ छ।

निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको महत्वलाई मनन गर्दै सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उहाँले सबै नागरिकलाई मतदानमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत देशको साझा भविष्य निर्माणमा योगदान दिन आग्रह गर्नुभयो।