राजनीति

यो राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय हो: नेता भण्डारी



काठमाडौँ, २६ फागुन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले यो राजीनामा दिने नभई  जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् । 

कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले इतिहासकै ठूलो क्षती व्यहोर्नु परेको भन्दै आफु राजिनामा दिने तयारीमा रहेको विषयलाई लक्षित गर्दै नेता भण्डारीले राजिनामा समस्याको समाधान नभएको उल्लेख गरेका छन् । सभापति थापा सर्लाही ४ मा पराजित समेत भएका छन् ।

उनले सामाजिक संजालमा भनेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो। अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व हो । आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो । यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन। नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ—यदि इच्छाशक्ति र साहस छ भने ।’