राजनीति

चुनावी हार–जितले सामाजिक सेवामा कुनै असर गर्दैन: सुनिल शर्मा



काठमाडौँ, २६ फागुन । नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले चुनावमा हार वा जित हुनुले सामाजिक सेवामा कुनै असर नगर्ने बताएका छन् ।

आज सामाजिक संजालमार्फत उनले बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आफूले सञ्चालन गरेका संस्थाहरूबाट विगतमा हुँदै आएको सेवा र सहयोग निरन्तर रहने उल्लेख गरे । 

उनले भनेका छन्, “हाल बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामीले सञ्चालन गर्दै आएका संस्थाहरू — Nobel Medical College र Kathmandu Medical College — मार्फत विगतदेखि नै नागरिकहरूको सेवा र सहयोगका विविध कार्यहरू निरन्तर रूपमा हुँदै आएका छन्। विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको कुरा यहाँहरू सबैलाई अवगत नै छ। यस प्रकारका सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानमा, सम्बन्धित ward तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको पनि सर्वविदित नै छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्‍याउने हाम्रो प्रयास सधैं निरन्तर रहँदै आएको छ। चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो। समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चाहन्छु। तसर्थ, बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका हाम्रो संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधी अनुसार आउन हुन सबैमा हार्दिक अनुरोध गर्दछु। धन्यवाद।”