विश्व

लेबनानका सहरमा इजरायलको आक्रमण



एजेन्सी, २७ फागुन । इजरायलले लेबनानको राजधानी बेरुतका दक्षिणी शहरहरूमा नयाँ आक्रमण गरेको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

इजरायली सेनाले भने आफूले इरान समर्थित समूह हिजबुल्लाहलाई लक्षित लेबनानको राजधानी बेरुत र टायर शहरमा आक्रमण गरेको जनाएको छ । यसअघि इजरायली सेनाले टायर र सिडोनमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई तुरुन्तै घर खाली गरेर कम्तीमा ३०० मिटर टाढा जान आग्रह गरेको थियो ।

गत साता अमेरिका–इजरायल संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अलि खामेनीको हत्या भएपछि त्यसको प्रतिक्रियामा हिज्बुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि मध्यपूर्वको युद्धमा तानिएको छ ।

सन् २०२४ को युद्धविरामपछि पनि इजरायलले हिज्बुल्लाहलाई लक्षित गरी आक्रमण जारी राख्दै आएको छ । पछिल्ला दिनहरूमा इजरायलले लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गर्नुका साथै सीमावर्ती क्षेत्रमा स्थलसेना पनि पठाएको छ । लेबनानको सरकारी सञ्चारमाध्यम नेसनल न्यूज एजेन्सीले इजरायलले बेरुतका दक्षिणी उपनगरहरूमा ‘भीषण आक्रमण गरेको’ जनाएको छ । उक्त क्षेत्र हिज्बुल्लाहको बलियो प्रभाव रहेको क्षेत्र मानिन्छ । प्रत्यक्ष प्रसारणका दृश्यहरूमा आक्रमण गरिएका स्थानहरूबाट धुवाँको मुस्लो देखिएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बुधबार दक्षिणी टायर जिल्लाको काना सहरमा इजरायली सेनाले गरेको लगातारको आक्रमणमा पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको जनाएको छ । त्यस्तै टायर जिल्लाकै हेन्नावियेह क्षेत्रमा अघिल्लो रात भएको इजरायली आक्रमणमा दुई जना घाइते भएका थिए । त्यसपछि भएको अर्को आक्रमणमा ती दुवै घाइते र उद्धारका लागि पुगेका एक जना उद्धारकर्मीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।