राजनीति

नागरिक अभियानद्वारा सफलतापूर्वक चुनाव सम्पन्न गरेकामा सरकारलाई धन्यवाद



काठमाडौँ, २९ फागुन । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारलाई बधाई ज्ञापन गरेको छ ।

अभियानको तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाह गरेको महत्वपूर्ण भूमिकाप्रति धन्यवाद दिएको हो ।

अभियानले निर्वाचन सफल बनाउन नेपाल सरकार तथा निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाप्रति पनि धन्यवाद तथा आभार व्यक्त गरेको छ । सो अवसरमा गृहमन्त्री अर्यालले प्रतिनिधि निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै यस कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरे ।

लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचन मार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै उनले निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको गृहमन्त्री अर्यालको भनाइ थियो ।