राजनीति

एउटा हारले कांग्रेस कहिल्यै हार्ने छैन : प्रवक्ता चालिसे



काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका छन् ।

निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाइ जित निकाल्दा कांग्रेस निर्वाचनबाट विषम् परिस्थितिमा पनि जित्न सफल भएको आशय उनको छ ।

प्रवक्ता चालिसेले फेसबुकमार्फत् भनेका छन्, ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं । बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो । फेरि चुनाव आउनेछ, हामी झन् बलियो भएर जित्नेछौं ।’

फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा कांग्रेस विजयी हुने उनको भनाइ छ । ‘एउटा चट्टानमाथिको रूखजस्तै नेपाली कांग्रेस यो आँधीमा पनि कम्तीमा उभिएको छ,’ चालिसेले भनेका छन्, ‘एउटा हारले नेपाली कांग्रेस कहिल्यै हार्ने छैन । रूखलाई मलिलो जमिनमा सार्ने र हुर्काउने काम हाम्रै हो ।’