एजेन्सी, २ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरू पार गराउन र विश्व बजारमा इन्धन आपूर्ति नियमित गर्न सघाउन आग्रह गरेका छन् ।
यो आग्रहपछि इरानले आइतवार थप देशहरूलाई अमेरिका र इजरायलसँगको युद्धमा संलग्न नहुन चेतावनी दिएको छ ।
इरानले अमेरिका–इजरायल अभियानको प्रतिक्रिया दिँदै खाडीको प्रमुख तेल र ग्यास निर्यातकर्तालाई विश्व बजारसँग जोड्ने जलमार्ग हुँदै इन्धन ढुवानी गर्ने जहाजलाई आवतजावतमा रोक लगाएपछि विश्वभरि ऊर्जाको मूल्य बढेको छ ।
राष्ट्रपति ट्रम्पले शनिबार चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य देशलाई ‘इस्कर्र्ट ट्याङ्कर’ मा जहाज पठाउन आग्रह गरेको थियो भने अमेरिकी सेनाले ‘स्ट्रेट अफ हर्मुज’को उत्तरी तटमा रहेको इरानी इलाकामा ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरूमा , आक्रमण जारी राखेको थियो ।
उनले सूचीबद्ध गरेका देशहरूले अहिलेसम्म यस विचारलाई सावधानीपूर्वक स्वागत गरेका छन् । यसैबीच, इरानका विदेशमन्त्री अराघचीले फ्रान्सेली समकक्षी जाँ–नोएल ब्यारोँसँग फोनमा उनीहरूलाई ‘द्वन्द्व बढाउन र विस्तार गर्न सक्ने कुनै पनि कार्यबाट टाढा रहन’ चेतावनी दिएका छन् ।
बेलायतको रक्षा मन्त्रालयले कुनै प्रतिबद्धता जनाएको छैन । “हामीले पहिले नै भनेका छौँ, हामी हाल हाम्रा सहयोगी र साझेदारहरूसँग यस क्षेत्रमा ढुवानीको सुरक्षा सुनिश्चित गर्न विभिन्न विकल्पहरूमा छलफल गरिरहेका छौँ,” उसले भनेको छ ।
बेलायतका ऊर्जा सुरक्षा मन्त्री एड मिलिब्यान्डले बीबीसीसँग भनेका छन्, “अब द्वन्द्व कम गर्ने योजना हुनुपर्छ । हामी हाम्रा सहयोगीहरूसँग कुरा गरिरहेका छौँ। त्यहाँ समुद्री ढुवानी सम्भव बनाउने विभिन्न उपायहरू छन् ।”
दक्षिण कोरियाले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पको टिप्पणीलाई नजिकबाट नियालिरहेको बताएको छ भने जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारुढ पार्टीका नीति प्रमुख ताकायुकी कोबायाशीले विद्यमान कानुनअनुसार उक्त क्षेत्रमा जापानी जलसेनाका जहाज पठाउने प्रतिबन्ध ‘अत्यन्त उच्च’ भएको बताएका छन्।










प्रतिक्रिया दिनुहोस्