Banner News

कर्मचारीको बढुवा र छनोटमा ‘बन्द प्रतिस्पर्धा’ सम्भव छैन: मन्त्री खनाल



काठमाडौँ, ४ चैत । अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूको बढुवा र छनोट पद्धतिमा बन्द प्रतिस्पर्धाको अवधारणा लागू गर्न नसकिने स्पष्ट पारेका छन् ।

नागरिक लगानी कोषको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बन्द प्रतिस्पर्धालाई प्रश्रय दिने कुरामा आफ्नो सैद्धान्तिक सहमति हुन नसक्ने भन्दै संस्था र कर्मचारी दुवैलाई खुला प्रतिस्पर्धाका लागि तयार रहन निर्देशन दिएका छन् । उनले कर्मचारीको कार्यक्षमता र दक्षता वृद्धिका लागि उत्प्रेरणा तथा क्षतिपूर्ति प्याकेज आवश्यक भए पनि प्रतिस्पर्धा सधैँ खुला नै हुनुपर्नेमा जोड दिएका हुन् । 

आगामी निर्वाचित सरकारले कर्मचारीका माग र कर प्रणालीका असंगतिहरूलाई सम्बोधन गर्ने विश्वास दिलाउँदै उनले कोषको व्यावसायिकता र पारदर्शितामा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे । मन्त्री खनालले मुलुक अहिले राजनीतिक संक्रमण र सरकार परिवर्तनको संघारमा रहेकाले दीर्घकालीन असर पर्ने कानुनी र नीतिगत निर्णयहरू अहिलेको सरकारले नगर्ने स्पष्ट पारे । उनले कर्मचारीहरूको सेवा सुविधा र वृत्ति विकासका लागि आवश्यक पर्ने अन्य प्रशासनिक सुधारका कामहरूमा भने सरकार सकारात्मक रहेको बताए ।