Banner News

पश्चिम एसियामा रहेका ८२ हजारबढी नेपालीले दर्ता गराए विवरण



काठमाडौँ, ६ चैत । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म पश्चिम एसियाबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले सुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर पछिल्ला दिनहरूमा असुरक्षित महसुस गर्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको उनको दाबी छ ।

इजरायल, अमेरिका र इरानबिच बढ्दो तनावका बिच पश्चिम एसियाका विभिन्न देशहरूबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे । उनले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिए । उनले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिए ।