राजनीति

हिउँदे वर्षाले यस वर्ष वन डढेलोको जोखिम कम हुनसक्छ : वन मन्त्रालय



काठमाडौँ, ९ चैत । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष वन डढेलोका घटनामा कमी आउने बताएका छन् ।

आज काठमाडौँमा आयोजित वन डढेलो सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले हिउँदे वर्षाका कारण वनमा डढेलो लाग्ने प्राकृतिक सम्भावना घटेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो अनुभवमा जनवरीको अन्त्यतिर वा हिउँदमा राम्रो वर्षा भयो भने त्यो वर्ष वन डढेलोका घटना कम हुन्छन्,’ ‘यसपटकको वर्षाले पातपतिङ्गरलाई कुहाउने र माटोले ओस सोस्ने भएकाले आगलागीको जोखिमलाई धेरै हदसम्म घटाएको छ।’

यद्यपि, प्राकृतिक रूपमा जोखिम कम देखिए पनि मानवीय लापरवाही वा आकस्मिक घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न उत्तिकै चनाखो हुनुपर्नेमा उनले जोड दिएका छन् । कतिपय क्षेत्रमा डढेलोको जोखिम कम भए पनि असावधानीका कारण हुने सानो आगलागीले ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।