काठमाडौँ, १० चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँले आफ्नो ७५ दिने कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
आज मन्त्रालयद्वारा सार्वजनिक ५० बुँदे उपलब्धिमा रणनीतिक सडक, पुल निर्माण, नीतिगत सुधार र अन्तर-मन्त्रालय समन्वयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
मन्त्री चौलागाईँको कार्यकालमा वर्षौँदेखि अलपत्र परेका (रुग्ण) २३५ ठेक्कामध्ये ४० वटा ठेक्का तोडिएका छन् भने करिब १५० वटा ठेक्का तोड्ने प्रक्रियामा रहेका छन् । यसै अवधिमा सडक विभागमार्फत १५९ कि.मि. सडक कालोपत्रे भएको छ भने ४६ वटा पुलको निर्माण सम्पन्न भएको छ । यस्तै, नारायणी र बागमती नदीमा आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको काम अघि बढेको छ ।
यसैगरी पुरानो राष्ट्रिय यातायात नीति, २०५८ लाई प्रतिस्थापन गरी ‘राष्ट्रिय यातायात नीति, २०८२’ तर्जुमा गरी मन्त्रिपरिषद्मा पेश गरिएको छ । विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि नीतिगत अध्ययन, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण नियमावली र डिजिटल मोबिलिटी (राइड शेयरिङ) सम्बन्धी मापदण्ड तयार भएका छन् ।








प्रतिक्रिया दिनुहोस्