राजनीति

सरकारलाई सुझाव र खबरदारीमा रचनात्मक भूमिका रहन्छ: अध्यक्ष घिसिङ



काठमाडौँ, १३ चैत । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै सरकार सञ्चालनमा आफ्नो तर्फबाट आवश्यक सल्लाह सुझाव र खबरदारी रहने प्रतिक्रिया दिएका छन् । 

बालेनले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै फेसबुकमार्फत अध्यक्ष घिसिङले बधाई दिँदै उनले यस्तै सुशासनको मागसहित जेन–जी आन्दोलनको जगबाट प्राप्त जनादेशका आधारमा गठन भएको सरकारबाट संविधान, शासन प्रणाली तथा राज्य संरचनालाई थप नागरिकमैत्री बनाउने, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र पूर्वाधार विकासलाई सुदृढ गर्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘प्रतिनिधि सभामा झण्डै दुई तिहाइ बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

‘सुशासन, समृद्धि र सामाजिक न्यायसहितको नेपाल निर्माणमा यो सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु । साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको छ ।’