Banner News

बालेन सरकारको कदमप्रति पूर्वराष्ट्रपति भण्डारीको गम्भीर आपत्ति



काठमाडौँ, १४ चैत । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर आपत्ति जनाएकी छन् ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको यो कदमलाई प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्य मान्यता विपरीतको संज्ञा दिएकी हुन् । सुशासनको नारा दिएर गठन भएको नयाँ सरकारले सुरुवातमै संवैधानिक मर्यादा र स्थापित लोकतान्त्रिक अभ्यासलाई कुल्चिएको भन्दै उनले यो निर्णय तत्काल पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेकी छन् । 

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बहानामा यो गिरफ्तारी भएको भन्दै पूर्वराष्ट्रपतिले यसको चर्को विरोध गरेकी छन् । उनले उक्त प्रतिवेदन आफैँमा पूर्ण नभएको र अध्ययनहरूले समेत यसमा त्रुटि देखाएको अवस्थामा हतारमा निर्णय गरिनुले विधिको शासनमाथि प्रहार भएको उल्लेख गरेकी छन् ।

विशेष गरी भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको सिफारिसलाई आधार बनाएर चालिएको यो कदमले मुलुकमा पुनः द्वन्द्व र अस्थिरता निम्त्याउने जोखिम बढाएको भण्डारीको ठम्याइ छ । उनले कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा पर्याप्त अध्ययन, संस्थागत परामर्श र विधिसम्मत प्रक्रिया अपनाउनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले चालेको कदम अपरिपक्व रहेको दाबी गरेकी छन् ।

मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि सरकारलाई संयमित हुन र विधि अनुसार अघि बढ्न समेत उनले सचेत गराएकी छन् ।